नुवाकोट जिल्लाको पश्चिमी क्षेत्र तारकेश्वर
गाउँपालिका वडा नम्बर १ फलाटे (साविक दाङसिङ गाविस वडा नम्बर २) मा अवस्थित श्री
पञ्च मिलन कलादेवी माध्यमिक विद्यालय तत्कालिन समय २०४६ सालमा त्यस गाउँमा कुनै
पनि शैक्षिक संस्था नहुँदा गाउँका बालबालिकाहरूलाई साँवा अक्षरहरू चिनाउने हेतुले
गाउँकै भद्र भलादमी र युवाहरू मिलेर जनसमुदायबाट अनौपचारिक रुपमा स्थापना भएको
विद्यालय हो । पठनपाठन २०४६ सालबाट
नै सुरुवात भएपनि नेपाल सरकारबाट औपचारिक मान्यता भने यस विद्यालयले २०५२ सालमा
मात्रै प्राप्त गरेको हो ।
त्यसपश्चात लामो समयसम्म कक्षा ३ सम्म मात्र सीमित रहेको यस विद्यालय स्थानीय
समुदाय र विद्यालयको स्थापनाकालदेखि नै निरन्तर रुपमा व्यवस्थापन समितिको
अध्यक्षको जिम्मेवारीमा रहनुभएका समाजसेवी श्री बौडे लामाको सक्रियतामा २०६६
सालदेखि निरन्तर रूपमा कक्षा अपग्रेड हुँदै कक्षा ३ बाट क्रमश कक्षा ४, ५,
६, ७ र ८ को मान्यता २०७१ सालसम्ममा
प्राप्त गर्यो । त्यसपश्चात् २०७८ सालमा माध्यमिक तह कक्षा
९ र १० को अनुमति प्राप्त गरेको यस विद्यालयको
सीमित जनशक्ति र सीमित स्रोत साधनको उपलब्धताको अवस्थामा पनि नतिजा भने अब्बल नै
रहेको छ।
प्राथमिक तहको स्वीकृत दरबन्दी ५, निमावि तहको शिक्षण
सहयोग अनुदान १, मावि तहको शिक्षण सहयोग अनुदान ३, बाल विकास सहजकर्ता १ र मातृभाषा शिक्षक १ गरी तलब
भत्ता व्यहोर्ने १२ जना र निजी स्रोतबाट तलब भत्ता व्यहोर्ने एक जना गरी जम्मा १२ जना मात्र शिक्षकहरू र भौतिक स्रोत साधनको कुरा गर्नु पर्दा विज्ञान प्रयोगशाला र ICT
प्रयोगशाला समेत नरहेको यस विद्यालयको हालसम्मको नतिजा हेर्दा नतिजा अब्बल नै
देखिन्छ। लगभग ९७% तामाङ समुदायका बालबालिकाहरू र लगभग ३% दलित समुदायका
बालबालिकाहरू अध्ययन गर्ने यस विद्यालयको शैक्षिक सत्र २०८१ को कक्षा ८ को
परीक्षामा १००% र माध्यमिक शिक्षा परीक्षा SEE मा नियमित र ग्रेड
वृद्धि गरी जम्मा ७७.७७%
विद्यार्थीहरू उत्तीर्ण हुन सफल भएको थियो । जुन सीमित जनशक्तिको
बीचमा पनि सीमित मात्रामा उपलब्ध स्रोत साधनको
प्रयोग गरी शिक्षण गर्ने कार्यकुशलता भएका कुशल,
मेहनती र लगनशील शिक्षकहरूको परिश्रम, विद्यालय क्षेत्रका
समुदायको विद्यालयप्रतिको लगाब, अनुशासित र
मेहनती विद्यार्थी र जीवनको ८१ औँ वर्षमा पनि अनवरत विद्यालयको विकासको लागि
योगदान दिइरहनुभएका विद्यालयका विद्यालय व्यवस्थापन समितिका
अध्यक्ष श्री बौडे लामाको योगदानका कारण सम्भव भएको हो । अझै
विद्यालयमा पर्याप्त मात्रामा दक्ष जनशक्ति र आवश्यक स्रोत साधनको प्रबन्ध र व्यवस्थापन
भएमा विद्यालयको नतिजा एबम गुणस्तरमा
अझ परिमाणात्मक र गुणात्मक सुधार हुने कुरामा दुईमत छैन।
तारकेश्वर गाउँपालिकाको वडा नं १ स्थित फलाटे,
सेलडाँडा, लर्केप,
जन्तरे, चिलाउने र लाफे लगायतका गाउँहरूलाई सेवा
क्षेत्र बनाएर कार्य गरिरहेको यस विद्यालयले विद्यालयको शैक्षिक र भौतिक व्यवस्थापकीय
पक्ष र गुणस्तरीयतामा सुधार गर्न सकेमा यस विद्यालयको सेवा क्षेत्र अझै बढ्ने र
विद्यालयको सेवा क्षेत्रबाट गुणस्तरीय शिक्षाको खोजीमा सदरमुकाम विदुर,
त्रिशुली, बट्टार,
धादिङबेसी र काठमाडौँ लगायतका क्षेत्रमा बसाई सरेका
विद्यार्थीहरू समेत विद्यालयमा अध्ययनका लागि फिर्ता हुने प्रबल सम्भावना रहेको छ।
जसका लागि विद्यालयलाई विद्यालय व्यवस्थापन सुधार तथा गुणस्त अभिवृद्धि गर्ने
किसिमका कार्यक्रमहरूको आवश्यकता रहेको छ।

No comments:
Post a Comment